सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

बुधबार, असोज १ २०८२
कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्णरूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँच वटामा सामान्य क्षति पुगेको छ।

कर्णाली- कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका-२, ३, ६ र ११ नं वडा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनकै भाइ डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्णरूपले क्षतिग्रस्त भएको उनले जानकारी दिए। त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पनि पूर्णरूपमा क्षति भएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए।

उनका अनुसार जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा क्षति पुगेको छ। प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्णरूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँच वटामा सामान्य क्षति पुगेको छ।

ठूला गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ। आर्थिक क्षतिको विवरण प्राप्त गर्न केही समय लाग्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले प्रदर्शनका क्रममा १३ सर्वसाधारण र तीन प्रहरी गरी १६ जना घाइते भएका उल्लेख गरे। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend