बागमती- जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन्। आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो।
उपमहानगरपालिकाको राजस्व संकलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवाप्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिए।
'आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीहरुलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ', उनले भने, 'कोठाकोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ। सम्भवतः असोज ४ गतेदेखि कार्यालयबाट राजस्व संकलन, नक्सा पास, सिफारिसलगायतका काम नियमित रुपमा सुचारु गर्ने तयारी भइरहेको छ।'
जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए। सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ। यस्तै उपमहानगरपालिकाको सवारीसाधनसमेत क्षति भएको थियो।
क्षतिको विवरण संकलनको काम भइरहेको उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताए। सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के-कति क्षति भएको थाहा हुने उनको भनाइ छ।
'आगजनीबाट उपमहानगरपालिकाको मूल कार्यालयसँगै ६ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारीसाधन जलेर नष्ट भएको', उनले भने, 'क्षतिको विवरण विभिन्न शाखाहरुबाट संकलन भइरहेको र प्राविधिकबाट प्नि क्षतिको मूल्यांकन भइरहेको छ।'
यसैबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगजनीबाट ध्वस्त भएको संरचनाहरुको अनुगमन गरेकी छिन्। क्षतिग्रस्त कार्यालयको अनुगमनपश्चात् उनले आगजनीबाट ध्वस्त कार्यालयलाई व्यवस्थित बनाएर तत्काल सेवा प्रवाहलाई व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिइन्। रासस