सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

मैवाखोलामा पहिरोले ११ घर विस्थापित

बुधबार, असोज १ २०८२
मैवाखोलामा पहिरोले ११ घर विस्थापित
फाइल तस्बिर

स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षणअनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन्।

ताप्लेजुङ- अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन् भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।

स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षणअनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन्। वडा नम्बर २ मा २ घर विस्थापित भएका छन् भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन्।

यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन्। त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन् भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

यस्तै, भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ। वडा नम्बर ४ को एकबासे सडक पूर्णरूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुंगे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ।

वडा नम्बर ५ को महादेवथान-कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक-रानीवन सडक, रानीवन-साङलुप्पा सडक, रानीवन-साम्तोङ सडक, ओर्खुम-जैवा सडक र फाकुम्बा-यदे सडक बाढी र पहिरोले बगाएर पूर्णरूपमा अवरुद्ध भएका छन्। साथै, तिर्तिरे-खार्ते सडकखण्डको अयाक्मा जंगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ।

दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताएका छन्। प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन्। अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।

यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गरेका छन्। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend