काठमाडौं- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।
मंगलबार व्यवसायीहरुसँगको सो सामूहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे।
उक्त छलफलमा उनले देशको अर्थतन्त्र खस्किदै गएकाले सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनु पर्ने बताए।
छलफल क्रममा अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदूषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढ्ने भन्दै नेपालको अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको उल्लेख गरे। सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए।
छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरुसमेत पेस गरेका थिए। उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट सवारी कर्जामा लोन टू भ्यालु रेसियामा हाल ६० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव नाडाले दिएको छ।
सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिँदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेजसमेत ल्याइने बताए। त्यसैगरी नेपाल सवारी प्रदूषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताए।
छलफलको अन्तमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्यांक संकलनगरी समुचित कदम चालिने बताए। सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै टेक्स मा के के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासनसमेत दिए।
सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोबाइल क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको छ भन्नु हुदै आफु व्यवसायीहरुको सीधा सम्पर्क रहने बताए। उक्त छलफलमा टेक्सका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याविनेटमा छलफल गरिने बताए।
उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल अभिक ज्योतिकोे उपस्थिति रहेको थियो।
