बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव दिलाउने भोजपुरको ‘सुन्तले-बाघखोर’

बुधबार, असोज १ २०८२
प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव दिलाउने भोजपुरको ‘सुन्तले-बाघखोर’

चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ।

भोजपुर- यहाँस्थित सुन्तले-बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ।

बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन्। 'सुन्तले-बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ, भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउने गर्छन्। यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउने गर्दछ', उनले भने। 

चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ। तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको तामाङ बताउँछन्।

भोजपुर-दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ। सहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि यो उत्तम गन्तव्य हो। समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर-खोटाङ सिमानाको चखेवाभञ्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ।

पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ। विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र भेषभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

भोजपुर सदरमुकामबाट सुन्तले ठाउँ १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend