सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अविरल वर्षाले भासियो निर्माणाधीन दुलेगौडा-लामागाउँ सडक

बुधबार, असोज १ २०८२
अविरल वर्षाले भासियो निर्माणाधीन दुलेगौडा-लामागाउँ सडक

विश्व बैंकको सहयोगमा बनिरहेको दुलेगौडा-लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको छ।

तनहुँ- आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ। शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-१२ लामागाउँ जोड्ने दुलेगौडा-लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडकखण्ड भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि श्यामानन्द गुप्तासहितको टोलीलाई नगरपालिकाले सडक स्तरोन्नतिको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ।

यो सडकमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ। सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो। विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयूजीआईपी)अन्तर्गत उक्त मोटरमार्गको सात दशमलव एक किलोमिटर दुरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो। उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रूपैयाँ रहेको छ।

नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका-८, ९ र १२ वडालाई जोड्छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।

दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ। सडकको चौडाइ १० मिटरको रहनेछ। यहाँ पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक-एक मिटरको नाला निर्माण हुनेछ।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ। सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend