सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कोरला नाका सञ्चालनले उत्साही छन् व्यवसायी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १ २०८२
कोरला नाका सञ्चालनले उत्साही छन् व्यवसायी

नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन्। दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन्। थप कन्टेनर आउने क्रम जारी छ।

म्याग्दी- मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन्। 

तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन्।

विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो। 

भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। 

बेनी, जोमसोम हुँदै कोरला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोरला जाने क्रममा रहेको उनले बताए।

'कोरला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरु उत्साही भएका छौँ', उनले भने, 'गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरलाबाट सामान ल्याउँदा सस्तो पर्छ।'

कोरला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरलामा आएका बताए।  

समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए। नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन्। 

नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन्। दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन्। थप कन्टेनर आउने क्रम जारी छ। 

रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ। सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ।

दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोरला नाका सञ्चालन भएपछि राहत मिलेको छ। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend