सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

केही मिनेटले परिवार बाँच्न सफल भएको भन्दै व्यवसायी उपेन्द्र महतोले भने - नेपाल अझ जुर्मुराएर उठ्नेछ

बुधबार, असोज १ २०८२
केही मिनेटले परिवार बाँच्न सफल भएको भन्दै व्यवसायी उपेन्द्र महतोले भने - नेपाल अझ जुर्मुराएर उठ्नेछ

महतोले नेपालमै अझ बढी लगानी गर्न विश्वभरका नेपालीलाई आग्रह गर्दै भने, ‘हाम्रा धरोहरहरू फेरि बनाउनेछौँ, अझ जुर्मुराएर उठ्नेछौँ। नेपाल हाम्रो घर हो, यसलाई सबले मिलेरै सुरक्षित र समृद्ध बनाउनुपर्छ।‘

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोले जेनजी पुस्ताको आन्दोलनमा भएको सरकारी दमन, त्यसपछि देखिएको हिंसा र आफ्नै घर जलेको पीडा सार्वजनिक गर्दै सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।

गत भदौ २३ गते भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि भएको दमन र त्यसपछि देशभरि फैलिएको विध्वंसात्मक घटनामा सिंहदरबार, संसद् भवन, शीतल निवासदेखि निजी घरसमेत ध्वस्त हुँदा आफ्नो करिब १५० वर्ष पुरानो निवास पनि खरानी भएको स्मरण गर्दै उनले भने, ‘मेरो परिवार केही मिनेटले बाँच्न सफल भयो।’

महतोले त्यो घर आफ्नो जीवनको संघर्ष, प्रगति र दुःखसुखकाको साक्षी रहेको बताएका छन्। उनले भनेका छन्, ‘त्यो घर मेरो संघर्ष, प्रगति र दुःखसुखको साक्षी थियो। मेरा दुई छोरीहरू र छोराको बाल्यकालको हाँसो र रोदनको गुञ्जनले भरिएको त्यो घरमा अब ढल्न लागेका केही भित्ता र डढिरहेका सम्झनाहरुको दुर्गन्ध मात्र बाँकी छ।'

'वास्तवमा, त्यो केवल मेरो परिवारको सम्पत्ति मात्र थिएन, आफ्नो ऐतिहासिक महत्व र वास्तुकलाका हिसाबले देशकै धरोहर थियो। त्यहाँ धेरै फिल्महरुको सुटिङ भएको छ। एउटा रुसी टिभी च्यानलले त नेपालको अन्य सुन्दर सम्पदाहरुसँगै त्यो घरलाई पनि अत्यन्त आकर्षक भवनको रुपमा आफ्नो देशमा प्रस्तुत गरेको थियो' उनले भनेका छन्।

महतोले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्। घाइतेहरुको नेपाल मेडिसिटी अस्पतालमार्फत निःशुल्क उपचार गरिएको उल्लेख गर्दै उनले हिंसाले जेनजीको आन्दोलनलाई बदनाम गरेको टिप्पणी गरे। ‘यो मुलुकलाई कोभिड महामारीपछि बल्लतल्ल तंग्राइरहँदा दशकौँ पछाडि धकेल्यो,’ उनले भने।

रूस, बेलारुसमा शिक्षादेखि व्यवसायमा सफल भइसकेका महतोले मातृभूमिप्रतिको मोहले सधैँ नेपाली नागरिकता बोकेरै बसिरहेको बताए। उनले आफ्ना सन्तानलाई पनि नेपालमै फर्किएर योगदान गर्न सिकाएको उल्लेख गर्दै भने, ‘विदेशमा अवसर हुँदाहुँदै पनि म स्थायी बसाइँलाई सोचिनँ। मलाई आफ्नो देश समृद्ध भएको देख्न मन छ।‘

संसारभरिका नेपालीलाई संगठित गरेर नेपालको विकासमा योगदान गर्ने उद्देश्यले सुरु गरेको एनआरएनए अभियान अब संविधानमै सुनिश्चित कानूनी हैसियतमा पुगेको स्मरण गर्दै उनले यो यात्रालाई आफ्नो गर्वको उपलब्धि भएकोसमेत बताए।

महतोले नेपालमै अझ बढी लगानी गर्न विश्वभरका नेपालीलाई आग्रह गर्दै भने, ‘हाम्रा धरोहरहरू फेरि बनाउनेछौँ, अझ जुर्मुराएर उठ्नेछौँ। नेपाल हाम्रो घर हो, यसलाई सबले मिलेरै सुरक्षित र समृद्ध बनाउनुपर्छ।‘

को हुन् उपेन्द्र महतो?

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतो केवल एक प्रतिष्ठित उद्यमी मात्र होइनन्, उनी नेपाली डायस्पोरालाई संगठित गरेर मातृभूमिको विकासमा जोड्ने व्यक्तित्व पनि हुन्।

सिरहाको कर्जन्हा गाउँमा जन्मिएका महतोले सन् १९७७ सम्म जनसेवा माध्यमिक विद्यालय कर्जन्हामै अध्ययन गरे। त्यसपछि उनले सन् १९७९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ सके। उच्च अध्ययनका लागि बेलारुस गएका उनले त्यहाँको स्टेट पोलिटेक्निक एकेडेमीबाट सन् १९८८ मा इन्जिनियरिङमा स्नातकोत्तर गरे। तत्कालीन सोभियत संघ र पछि रुसको वातावरणले उनलाई गहिरो प्रभाव पारेको थियो।

सन् १९९१ मा सोभियत संघ विघटनपछि उत्पन्न अस्तव्यस्ततामा महतोले अवसर देखे। उनले रुसमा तेल व्यवसाय, टेलिभिजन उत्पादन, रियल स्टेटमा हात हाल्दै बेलारुसको हेभी मेसिनरी उत्पादन गर्ने कम्पनी एम्कोडर समेत खरिद गरे। क्रमशः उनको व्यवसाय विस्तार हुँदै गयो र उनी त्यहाँका प्रभावशाली व्यवसायी बने।

आफ्नै मातृभूमिप्रतिको मोहले महतोलाई विदेशमै स्थायी बसाइँ बस्न दिएन। सन् २००० को दशकको सुरुतिर नेपाल फर्किएका उनी २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापक अध्यक्ष बने। त्यसपछि उनले नेपालको व्यवसायमा पनि ठूलो विस्तार गरे र रुसको व्यवसायसँग क्रमशः अलग भए। नेपाल मेडिसिटी हस्पिटललगायत स्वास्थ्य, शिक्षा, रियल स्टेटदेखि विभिन्न क्षेत्रमा उनले लगानी विस्तार गरेका छन्।


प्रकाशित : बुधबार, असोज १ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend