सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

मंगलबार, भदौ ३१ २०८२
जेनजी आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन्। कोषका १७ वटा दुईपांग्रे र २१ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ।

काठमाडौं- यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ।

एकसय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेका छन्।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए। यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उनले सुनाए।

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन्। कोषका १७ वटा दुईपांग्रे र २१ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

पुरातत्व विभागका दुईवटा चारपांग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ। यसैगरी मन्त्रालयका दुईपांग्रे दुई र चारपांग्रे तीनवटा सवारीसाधनमा पूर्ण तथा दुईवटा दुईपांग्रे र सातवटा चारपांग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ। यसैगरी तीनवटा चारपांग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ।

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुईपांग्रे र ६ वटा चारपांग्रेमा पूर्ण र १६ वटा चारपांग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ। राष्ट्रिय अभिलेखालयको एउटा चारपांग्रे सवारीमा आंशिक क्षति भएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend