काठमाडौं- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल भाटभटेनीको स्थलगत अवलोकनमा पुगेका छन्।
सोमबार पदभार ग्रहण गरी मंगलबार क्षतिग्रस्त व्यावसायिक संरचनाको अवलोकनमा निस्किएका अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति बेहोरेको भाटभटेनीको कोटेश्वर शाखा पुगेर त्यहाँको स्थिति नियालेका हुन्।
अर्थमन्त्री खनालले तोडफोड, आगजनीका कारण नष्ट भएका संरचना नियाल्दै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई ढाडस एवं हौसलासमेत दिए। सञ्चालक गुरुङले मन्त्रीको उपस्थितिले अझ बलियो ढंगले अघि बढ्ने प्रेरणा मिलेको बताए।
गएको सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै सुरु भएको आन्दोलन भड्किँदा मंगलबार भाटभटेनी सुपरमार्केटका विभिन्न १२ आउटलेटमा आगजनी र ९ वटामा चोरी डकैती भएको थियो। २७ वटा आउटलेट र एउटा स्टोरगरी २८ वटामध्ये ७ वटा आउटलेट सुरक्षित रहेको भाटभटेनीले जनाएको छ। कोशी प्रदेशमा रहेका सबै आउटलेटमा क्षति भएको छ। उपत्यकाबाहिर रहेकामध्ये नेपालगञ्ज आउटलेटमात्र सुरक्षित रहेको छ।
यस्तै, अर्थमन्त्री खनाल र अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले आजै थापाथली क्षेत्रमा आगलागी भएका शोरुमको पनि अवलोकन गरेका थिए। थापाथलीमा सिप्रदी, सीजी, सुजुकी, महिन्द्राको शोरुम आगलागी भएर नष्ट भएका थिए।