सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो

मंगलबार, भदौ ३१ २०८२
अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालवाहक ट्रक घाँसामै रोकिएका थिए।

म्याग्दी- बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो।

नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका ठूला ढुंगा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताए।

'बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ', उनले भने, 'सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।'

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालवाहक ट्रक घाँसामै रोकिएका थिए। सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन्। 

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाले बेनी-जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend