काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण सडक विभागमा पनि ठूलो क्षति पुगेको छ।
विभागमा रहेका दुईपांग्रे करिब ८० वटा, चारपांग्रे करिब ७० वटा सवारीसाधनमा पूर्णरुपमा क्षति पुगेको विभागका प्रवक्ता ई. प्रभातकुमा झाले जानकारी दिए। उनका अनुसार विभाग मातहतका कार्यालयमा दुईपांग्रे करिब १२ वटा, चारपांग्रे करिब २५-३० वटा जलेर काम नलाग्ने अवस्थामा छन्।
यस्तै, तोडफोड तथा आगजनीबाट महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा, वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरु, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरुमा पनि पूर्णरुपमा क्षति पुगेको छ।
सम्भार महाशाखा र अन्तर्गतका शाखाहरु, प्रशासन शाखा, उत्तर-दक्षीण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरु र आर्थिक प्रशासन शाखामा पनि क्षति पुगेको प्रवक्ता झाले जानकारी दिए।
उनका अनुसार पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुंगा सुरुङमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरु, कानून तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयको आंशिक क्षति भएको छ।
सडक विभाग मातहतका कार्यालयमा सडक डिभिजन भक्तपुर, दाङ, चन्द्रपुर, महेन्द्रनगर (धनगढी साइट अफिस) , हुलाकी आयोजना (धनगढी साइट अफिस) मा समेत पूर्णरुपमा क्षति पुगेको छ।
विभागले विवरणहरु संकलन गरिरहेको छ। क्षतिको थप विवरण आउन बाँकी छ।