काठमाडौं- सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले सोमबार निजी क्षेत्रका प्रतिनिधि संस्थासँग गरेको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अघि बढाउन निजी क्षेत्रको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन्।
सचिवद्वयले आउँदो चाडपर्वलाई मध्यनजर गर्दै खाद्यान्नलगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्जाद रहेको हुँदा कुनै अभाव नहुने स्पष्ट पारे। उनले माग र आपूर्ति प्रणालीमा प्रतिकूल असर पर्नेगरी वस्तु सञ्चित नगर्न उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता तथा बिक्रेतालाई अनुरोध गरे। मन्त्रालयले सामान्य उपभोक्तालाई समेत वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न आग्रह गरेको छ।
आपूर्ति सहज बनाउन सरकारका प्रयासबारे जानकारी दिँदै सचिवद्वयले कोरला नाका सञ्चालनमा आइसकेको र त्यहाँबाट ठूलो मात्रामा सामान भित्रिएको बताए। तातोपानी नाका खुलाउन प्रयास भइरहेको उल्लेख गर्दै उनले दक्षिणतर्फका नाका भने नियमित सञ्चालनमा आइसकेको जानकारी दिए।
छलफलमा उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा अर्थतन्त्रलाई उकास्न सहकार्य र समन्वय अत्यावश्यक रहेको बताए। उनले उत्पादनमूलक उद्योग, होटल, रिटेल चेनदेखि साना व्यवसायसम्मका उद्योगी–व्यवसायीका निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट र तोडफोडले निजी क्षेत्र निराश बने पनि नयाँ उत्साहसहित उठ्ने प्रयास भइरहेको उल्लेख गरे।
पाण्डेले सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउन सरकारी सहयोग जरुरी रहेकोमा जोड दिए। रासस