काठमाडौं- जेनजी आन्दोलनपछि भड्किएको हिंसात्मक घटनाले मुलुकका प्रमुख अन्तर्राष्ट्रिय होटल चेनलाई समेत नराम्रो असर पुर्याएको छ। आन्दोलनमा राज्यको दमनपछि भड्किएको हिंसात्मक घटनाले नेपालका प्रमुख अन्तर्राष्ट्रिय चेन होटललाई नै लक्षित गरिँदा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।
राजधानीमा सञ्चालित हायात रिजेन्सी र डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको हिल्टन होटलमा तोडफोड र आगजनी हुँदा नेपाल पर्यटन क्षेत्रमा गम्भीर धक्का लागेको हो।
सामाजिक सञ्जालमा हिल्टन होटलको अग्लो टावरबाट धुँवा उठेको दृश्य भाइरल बनेपछि घटनाले अन्तर्राष्ट्रिय सन्देश नकारात्मक गएको छ। पोखरासहितका पर्यटकीय क्षेत्रका र पूर्वमा नेपालिरिका र मेची क्राउन होटलमा समेत यस्तै आक्रमण भएपछि करिब दुई दर्जन होटलमा झन्डै २५ अर्ब रुपैयाँबराबरको क्षति भएको होटल संघ नेपाल (हान) ले जनाएको छ।
नेपाल ट्रेकिङ एजेन्सीज् एसोसिएशन (टान) का अध्यक्ष सागर पाण्डेका अनुसार सशस्त्र द्वन्द्व वा लामो बन्दहडतालको समयमै पनि ठूला होटललक्षित आक्रमण नभएकोमा यसपटक भने अन्तर्राष्ट्रिय ब्रान्डमै क्षति पुगेको छ। 'यस्ता घटनाले नेपाल सुरक्षित गन्तव्य होइन भन्ने गलत सन्देश पुगेको छ,' उनले भने।
नेपाल पर्यटन बोर्डका अनुसार आन्दोलनकै बेला मुलुकमा करिब ३५ हजार विदेशी पर्यटक थिए। तीमध्ये कतिपयले हिल्टन, हायात र पोखराका होटलमा प्रत्यक्ष अनुभव गरेका नकारात्मक घटनाले नेपालप्रति प्रतिकूल धारणा बोकेर फर्किनुपरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। उनका अनुसार विदेशी लगानीकर्ताले समेत यसलाई गम्भीर रूपमा लिने भएकाले तत्काल रिकभरी रणनीति तयार पार्नुपर्नेछ।
नेपालमा पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याउने होड चलेको छ। होटल सोल्टी अटोग्राफ कलेक्सनमा रुपान्तरण भइसकेको छ भने हिल्टन र हायातले ठूलो लगानी गरेका छन्।
उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र पर्यटनसम्बन्धी ३०४ परियोजनामा २६ अर्ब ८२ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल विदेशी लगानीको ४०.५ प्रतिशत सेवा क्षेत्रमा रहेको छ। त्यसैमा पर्ने होटल तथा रेस्टुरेन्ट क्षेत्रको एफडीआई २६ अर्ब ९० करोड रुपैयाँ नाघिसकेको छ। जुन अघिल्ला वर्षयता लगातार बढ्दो क्रममा छ।
भदौ २४ गतेको आक्रमणले विदेशी मात्र होइन, स्वदेशी लगानीकर्ताको उत्साह कमी आउने अर्थशास्त्री बताउँछन्। दुई वर्षसम्म ठूलो लगानीको सम्भावना न्यून रहने देखिन्छ।
उद्योग व्यवसायका संरचना ध्वस्त भएपछि सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष कमी आउने अर्थशास्त्रीहरूको भनाइ छ। अतिथि सत्कार सेवामा लगातार बढ्दो लगानीका बीच अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरूमा आक्रमण हुनु मुलुकको पर्यटन छविमात्र नभइ समग्र लगानी वातावरणकै लागि ठूलो चुनौती बनेको छ।


