बागलुङ- भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ-पूर्वीरुकुम खण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो।
आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो। रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला-४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिँदै। लोकमार्ग अवरुद्ध हुँदा रुकुमपूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन्।
बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधन कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ।
लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उनको भनाइ छ। निरन्तर वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाने र रूख ढल्ने गर्दा ठाउँ-ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेल बताउँछन्।
वर्षा हुनेबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने पौडेलले बताए। रासस