सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कडा कारबाहीको मागसहित एनसेलले प्रहरीमा बुझायो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीसम्बन्धी प्रमाण

सोमबार, भदौ ३० २०८२
कडा कारबाहीको मागसहित एनसेलले प्रहरीमा बुझायो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीसम्बन्धी प्रमाण

उजुरीमा घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरी कानूनीरुपमा सजाय दिलाउन, डकैती गरी लगिएको सामान फिर्ता दिलाउन र आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत भरपाइ गराउन माग गरिएको छ।

काठमाडौं- दूरसञ्चार कम्पनी एनसेलले आगजनी, तोडफोड र डकैतीसम्बन्धी प्रहरीमा उजुरी दिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा विभिन्न आपराधिक समूहहरुले कार्यालयमा तोडफोड, आगजनी र डकैती गर्दा सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएको हो। 

उजुरीमा घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरी कानूनीरुपमा सजाय दिलाउन, डकैती गरी लगिएको सामान फिर्ता दिलाउन र आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत भरपाइ गराउन माग गरिएको छ।

कम्पनीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिइ उनीहरुलाई कोठामा थुनेर भवनमा तोडफोड तथा आगजनी गरेको एनसेलको भनाइ छ। भवनको अगाडि भागका सिसाहरु फुटाइएको छ भने कार्यालयभित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरु तोडफोड तथा आगजनी गरिएको छ।

भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरु तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरु समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ।

एनसेलले आफ्नो कार्यालयको दशवटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिनलगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरु डकैती गरी लगेको जनाएको छ।

कर्मचारीका ल्यापटप, अन्य व्यक्तिगत सामान तथा गहना, कार्यालयको टीभी, मोनिटरलगायतका उपकरणमा आगजनीका साथै कतिपय डकैती गरिएको छ। कम्पनीको निजी तथा कर्मचारीको र भाडामा लिइएका सवारीसाधन पनि आगजनी गरी ध्वस्त पारिँदा ठूलो आर्थिक तथा भौतिक नोक्सानी भएको एनसेलले जनाएको छ।

कम्पनीले क्षतिको विवरण र लुटिएका सम्पत्तिको सूचीसहित सीसीटीभी फुटेज प्रहरीलाई बुझाइसकेको छ। तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गरी थप विवरण उपलब्ध गराउने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ ३० २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend