सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अब विध्वंश होइन, पुनर्निर्माणतर्फ लागौँ : मन्त्री कुलमान घिसिङ

पुनर्निर्माण गर्न काेष खडा गरिने, सहयाेग गर्न आह्वान

सोमबार, भदौ ३० २०८२
अब विध्वंश होइन, पुनर्निर्माणतर्फ लागौँ : मन्त्री कुलमान घिसिङ

'अहिले निजी क्षेत्रको मनोबल गिरेको अवस्थामा सबैको मनोबल उच्च बनाउँदै तोकिएकै समयमा चुनाव सम्पन्न गराउनुपर्ने छ। अहिले छोटो अवधिमा एक सेकेन्ड पनि खेर नफाली काम गर्नुपर्ने छ।'

काठमाडौं- अब विध्वंश होइन निर्माणतर्फ लाग्ने समय आएको नवनियुक्त मन्त्री कुलमान घिसिङले बताएका छन्। 

ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा सोमबार शपथ ग्रहण गरेका मन्त्री घिसिङले राष्ट्रका लागि ठूलो क्षति भएको छ त्यसलाई मनन गरेर अगाडि बढ्ने समय आएको बताएका छन्। 

अहिले आगजनी भएका तोडफोड भएका संरचना पुनर्निर्माण गर्न काेष खडा गरिने बताउँदै मन्त्री घिसिङले देश र विदेशमा हरेका नेपालीलाई सहयाेग गर्न आह्वानसमेत गरेका छन्। नेपाल र नेपाली आफैले पुनर्निर्माण गरिने उनको उद्‍घोष छ। 

'आज म भारी जिम्मेवारीका साथ तीन मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएको छु। मुलुकको दिशा कोर्ने यी मन्त्रालयमा आएको छु। जलेको भत्केको मर्मत र पुनर्निर्माण गर्ने सोच छ। सार्वजनिक सम्पत्ति जलाएर केही जिँतिदैन। यो सम्पत्ति सबैको हो। आवाज उठाऔँ तर पूर्वाधारमा क्षति नगरौँ' उनले भने। 

'सरकारको गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण पनि बढी क्षतितर्फ धकल्यो। अब हामी हिंसा होइन पुनर्निर्माणतर्फ लागौँ। देशको गम्भीर अवस्थालाई विचार गरेर जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ। अब विध्वंश होइन निर्माण। यसमा सबैको साथ आवश्यक छ। सबैको साथ नभइ यो सम्भव छैन' मन्त्री घिसिङले भने। 

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने निर्णय पनि गरेका छन्। साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणासमेत गरेका छन्।

'देशभित्रै सुन्दर भविष्य निर्माण र भ्रष्टाचार निर्मुल पार्ने यो आन्दोलनपछि अब हामी सबै सहकार्य गरी अघि बढ्नुपर्ने छ। जेनजीले देखेको समुन्नत देश निर्माणमा हातेमालो गर्नुपर्छ' उनले भने। 

'अहिले निजी क्षेत्रको मनोबल गिरेको अवस्थामा सबैको मनोबल उच्च बनाउँदै तोकिएकै समयमा चुनाव सम्पन्न गराउनुपर्ने छ। अहिले छोटो अवधिमा एक सेकेन्ड पनि खेर नफाली काम गर्नुपर्ने छ' उनले भनेका छन्। 

सिंहदरबार प्रवेशसँगै कुलमान घिसिङको ‘सक्कली परीक्षा’ सुरू सिंहदरबार प्रवेशसँगै कुलमान घिसिङको ‘सक्कली परीक्षा’ सुरू


प्रकाशित : सोमबार, भदौ ३० २०८२१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend