काठमाडौं- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक सम्पत्तिको सदुपयोगका लागि अब सच्चिनै पर्ने समय आएको बताएका छन्।
युवाले आफूहरूलाई जिम्मेवारी सुम्पिएको र उनीहरुको तर्फबाट नासोका रुपमा जिम्मेवारी पाएको भन्दै अर्थमन्त्री खनालले भने, 'ज्यानै दिएर जसले यो गरे हामीले त्यसमा खेँलाची गर्न हुन्न। अब कुनै पनि कुरामा गल्ती गर्ने छुट छैन। सार्वजनिक सम्पत्तिको सदुपयोगका लागि सच्चिनै पर्छ।'
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ ग्रहण गरेसँगै सिंहदरबार पुगेर पदभार सम्हालेका मन्त्री खनालले भने, 'सार्वजनिक सम्पत्ति नाश गर्नेहरुले आग्रह गरेर कराएर हुन्न। कसैको नाम लिएर परिबन्दमा परेँ भन्दैमा एक्सक्युज हुँदैन। अब मुलुकको भविष्यका लागि काम गर्ने हो।'
छ महिनाभित्र चुनाव गर्नैपर्ने अवस्था भएकाले पूरक बजेटको विकल्प सोच्ने अवस्था नरहेको पनि मन्त्री खनालले प्रष्ट पारे। 'बजेटमा फिल्टर गर्न सक्छौँ। यसबाट एक खर्ब रुपैयाँ जति निस्किन्छ होला। निर्वाचनका लागि खर्च गर्नुपर्छ। यसमा कुनै पनि कमी हुन हुन्न।'
'निजी सम्पत्ति क्षति भएको कुरामा कतिपय बजार प्रणालीले सम्बोधन गर्छ। सार्वजनिक सम्पत्तिको पनि क्रमशः गराउनुपर्छ' उनले भने।
अहिले मन्त्रालयका लागि सवारीसाधन आवश्यक नरहेको भन्दै उनले सार्वजनिक सेवाका लागि भने केही सवारीसाधन चाहिने बताए।
राजस्वमा चुस्त हुनैपर्ने अवस्था रहेको भन्दै उनले भने, 'असुली त हुनुपर्छ तर व्यवहfर नरम हुनुपर्छ। नरम भएर पनि कर त उठिहाल्छ।'
दातृ निकायहरूसँग र विदेशी सहयोगका लागि द्विपक्षीय मिटिङ परराष्ट्रको माध्यमबाट जाने र बहुपक्षीयमा मन्त्रालय आफै अघि बढ्ने उनले बताए।
यस्तै अर्थमन्त्री खनालले मुलुकको प्राथिमिकताभन्दा बाहिर रहेर लहडमा अघि बढेका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।
यसका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनेको छ। कार्यदलले आयोजना फिल्टरको सिफारिस गर्ने छ। तीन दिनमा यसको प्रतिवेदन आएर थप निर्णय हुने जनाइएको छ।