सङ्खुवासभा- सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ। आइतबार राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि आपूर्ति बन्द भएको हो।
उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार परिवार लाभान्वित हुँदै आएका थिए। खाँदबारी नगरपालिका-४ महभिरमा पहिरोले पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए।
पहिरोले यसअघि यही भदौ ५ गते पहिरोले मुहानको इन्टेक पुरेको थियो। करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो।
खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी-७ सेनाको क्याम्पमा रिजर्भमा रहेको ट्यांकीबाट वितरण गरिने अध्यक्ष बरालले बताए। मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको र चाँडै खानेपानी आपूर्ति सञ्चालन गरिने उनको भनाइ छ। खानेपानी आपूर्ति रोकिएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन्। रासस