काठमाडौं- नवनियुक्त तीन मन्त्री कुलमान घिसिङ, ओमप्रकाश अर्याल र पूर्वअर्थसचिव रामेश्वर खनालले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहका बीच तीन मन्त्रीलाई शपथ गराएका हुन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको विस्तारित मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा पूर्वअर्थसचिव खनाल, गृहमन्त्रीका रूपमा अधिवक्ता अर्याल र ऊर्जामन्त्रीका रूपमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले शपथ लिएका हुन्।
गृह मन्त्रालयको नेतृत्व पाएका अर्याललाई कानून मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ। सामाजिक आन्दोलनमा सक्रिय अधिवक्ता उनी विभिन्न रिटमार्फत चर्चामा आएका थिए। पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानूनी सल्लाहकारसमेत बनेका थिए।
यस्तै, ऊर्जा मन्त्रालयको नेतृत्व पाएका घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा उनले मुलुकमा लोडसेडिङ अन्त्य गर्दै लोकप्रियता हासिल गरेका थिए। तर केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकाल पूरा हुनुअघि नै उनलाई पदमुक्त गरेको थियो।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनालले हालैमात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्षको हैसियतमा प्रतिवेदन बुझाएका थिए। नीतिगत विषयमा स्पष्ट र कडा टिप्पणी गर्ने अर्थशास्त्रीका रूपमा उनी परिचित छन्।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार तीन मन्त्रीहरूको नाम टुंग्याएकी थिइन्।