काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आज बिहान साढे ११ बजे शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको ११:३० मा हुने जानकारी दिएको छ।
शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुने भएको छ। अहिले सो परिसरमा टेन्ट राख्ने काम भइरहेको छ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार तीन जना मन्त्रीको नाम टुंग्याएकी थिइन्। अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरिएको हो।
अर्याललाई गृह मन्त्रालयसँगै कानून मन्त्रालयको जिम्मेवारीसमेत दिने तयारी भएको छ भने घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको छ।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनाल हालैमात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्षका हैसियतमा प्रतिवेदन बुझाइसकेका थिए। नीतिगत प्रश्नमा स्पष्ट र कडा टिप्पणी गर्ने अर्थशास्त्रीका रूपमा उनी चिनिन्छन्।
गृहमन्त्रालयसहित कानून मन्त्रालयको नेतृत्व पाउने अर्याल पेसाले अधिवक्ता हुन्। सामाजिक आन्दोलनमा सक्रिय रहँदै विभिन्न रिटमार्फत चर्चामा आएका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानूनी सल्लाहकारसमेत बनेका थिए।
ऊर्जा मन्त्रालयको नेतृत्व लिने घिसिङ नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा मुलुकमा लोडसेडिङ अन्त्य भएको भन्दै चर्चित बनेका थिए। तर केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकाल पूरा हुनुअघि नै उनलाई बर्खास्त गरेको थियो।