सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सोमबार, भदौ ३० २०८२
फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ।

काठमाडौं- सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो। ‘हामीले उर्दी जारी गरेका थियौं फिर्ता गर्नका लागि। फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ भनेर,’ उनले भने।

उनका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो। केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन्। 

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ। ‘फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम भने गोप्य राखिएको छ,’ महतोले भने। 

विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । उनका अनुसार यसको अनुमानित मूल्य  १० करोड ९१ लाख २२ हजार ८२७ रुपैयाँ बराबर रहेको छ।

खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’  लुटिएको छ। महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ। यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ।

लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा  आगजनी गरिएको छ। खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ। 

यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ। यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनःलुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन्। रासस


प्रकाशित : सोमबार, भदौ ३० २०८२०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend