सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सुशीला कार्की मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त, खनाल अर्थमन्त्री, अर्याल गृहमन्त्री र ऊर्जामन्त्रीमा घिसिङ

आइतबार, भदौ २९ २०८२
सुशीला कार्की मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त, खनाल अर्थमन्त्री, अर्याल गृहमन्त्री र ऊर्जामन्त्रीमा घिसिङ

पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री तथा कानून मन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा तीनजना मन्त्री नियुक्त गरेका छन्।

जसमा पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री तथा कानूनमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नियुक्त भएका तीन मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनालले हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतमा प्रतिवेदन सरकारलाई बुझाएका थिए। नीति र निर्णयप्रति स्पष्ट र कडाभन्दा कडा टिप्पणी गर्ने अर्थशास्त्रीका रूपमा उनी परिचित छन्।

गृहमन्त्रालयसहित कानून मन्त्रालयको नेतृत्व पाएका अधिवक्ता अर्याल कानून व्यवसायी हुन्। सामाजिक आन्दोलन र विभिन्न रिट निवेदनमार्फत चर्चामा आएका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानूनी सल्लाहकारसमेत बनेका थिए।

ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्। उनकाे कार्यकालमा लोडसेडिङ अन्त्य भएको भन्दै उनी व्यापक रूपमा चर्चित बनेका थिए। तर केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोस्रो कार्यकाल पूरा हुनुअघि नै बर्खास्त गरेको थियो।


प्रकाशित : आइतबार, भदौ २९ २०८२२२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend