सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

रामेश्वर खनाल बने अर्थमन्त्री, यसअघि उनकै नेतृत्वमा बनेको थियो आर्थिक सुधारको रोडम्याप

आइतबार, भदौ २९ २०८२
रामेश्वर खनाल बने अर्थमन्त्री, यसअघि उनकै नेतृत्वमा बनेको थियो आर्थिक सुधारको रोडम्याप

विषयविज्ञता र स्वच्छ छविको प्रशासकमा रुपमा सचिवबाट राजिनामा दिएर बाहिरिएका खनाल केवल पूर्वप्रशासको रुपमामात्र सीमित नभएर अर्थतनीतिको गम्भीर अध्येताको पहिचान बनाएका छन्।

काठमाडौं- रामेश्वर खनाल अर्थमन्त्री बनेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बनेका हुन्। उनको शपथ भोलि सोमबार बिहान हुनेछ।

अर्थ प्रशासनको लामो अनुभव भएका खनाल पूर्वअर्थसचिवसमेत हुन्। सचिवबाट राजीनामा दिएर नेपाली अर्थतन्त्रकै विषयमा अध्ययन र अनुसन्धानमा सक्रिय खनालको नेतृत्वमा निवर्तमान सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको थियो। उक्त आयोगले नेपाली अर्थतन्त्रमा सुधारको रोडम्यापसहितको प्रतिवेदन दिएको थियो। 

सुशासन र आर्थिक विकासको मुख्य जिम्मेवारीसमेत भएको वर्तमान सरकारले सकभर विज्ञलाई मन्त्री बनाउने रणनीति लिएको छ। सोही अनुसार प्रधानमन्त्री कार्कीले खनाललाई छानेकी हुन्। 

अर्थ प्रशासनका करिब सबै क्षेत्रमा काम गरेको अनुभव, आन्तरिक उत्पादन, अन्तर्राष्ट्रिय व्यापार लगायतका क्षेत्रमा पछिल्लो समय खनालले अध्ययन अनुसन्धानलाई निरन्तरता दिएका थिए। 

विषयविज्ञता र स्वच्छ छविको प्रशासकमा रुपमा सचिवबाट राजिनामा दिएर बाहिरिएका खनाल केवल पूर्वप्रशासको रुपमामात्र सीमित नभएर अर्थतनीतिको गम्भीर अध्येताको पहिचान बनाएका छन्। 

को हुन खनाल?

पूर्वअर्थसचिव रामेश्वर खनाल नेपालमा नीति निर्माण र आर्थिक सुधारका भरपर्दो स्तम्भका रूपमा स्थापित भइसकेका छन्।

सरकारलाई आर्थिक नीतिको सुझाव आवश्यक पर्दा पहिलो खोजिने नाम हो, पूर्वअर्थसचिव रामेश्वर खनाल। नीति तथा निर्णयमाथि स्पष्ट र तथ्यआधारित टिप्पणी गर्ने उनी हालका चर्चित अर्थशास्त्रीमात्र होइन 'पोलिसी थिंक ट्यांक'का रूपमा नै स्थापित छन्।

लामो समयको प्रशासनिक अनुभव र अध्ययन-अनुसन्धानमा जोडिएका खनालको विश्लेषणलाई सरकारदेखि अन्तरसरकारी र बहुपक्षीय निकायले समेत आधार मानेर अघि बढ्ने गरेका छन्।

तत्कालिन सरकारले आर्थिक सुधारका लागि गठन गरेको उच्चस्तरीय आयोगको संयोजकसमेत उनी नै बनेका थिए। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी सुधारका प्राथमिकतासहित विस्तृत सुझाव पेश गरेको छ।

२०१३ साल असार २ गते पाल्पा तानसेनमा जन्मिएका खनाल बाल्यकालदेखि नै राम्रा विद्यार्थी थिए। परीक्षा आउन १७ दिन बाँकी छँदै पर्वतको फलेबासस्थित विद्यालयमा एकैपटक तीन कक्षामा भर्ना भएर प्रथम स्थान ल्याएका उनले पछि तानसेनमा निरन्तर उत्कृष्टता कायम राखे। विद्यार्थी जीवनमा नेतृत्व र सामाजिक गतिविधिमा सक्रिय रहँदै उनले स्नातकसम्म दोस्रो र स्नातकोत्तरमा तेस्रो स्थानमा रहँदै शैक्षिक उपलब्धि हासिल गरेका थिए।

२०७६ चैतसम्म अर्थ मन्त्रालयका सचिव रहेका खनाल तत्कालीन समयमा विषयगत ज्ञान, निर्णय क्षमता र दुरदृष्टिका कारण चर्चामा रहन्थे। जटिल समस्या समाधान गर्ने उनी तत्कालीन प्रशासकहरूमध्ये सबैभन्दा विवेकशील मानिन्थे।

राजनीतिक नेतृत्वसँग कतिपय बेला मतभेद भए पनि सरकार सञ्चालन गर्न उनका सल्लाह र निर्णय अपरिहार्य ठहरिन्थे। 'रामेश्वरको सहयोगबिना चल्दैन' भन्ने धारणा त्यसबेला धेरैले सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

खनालले अहिलेसम्म लिएका कुनै निर्णय फिर्ता लिनु नपरेको तथ्य पनि उल्लेखनीय मानिन्छ। 

अर्थप्रशासनमै लामो समय काम गरेर प्रशासन बुझेका खनाल नेपालको पछिल्लो अर्थनीतिको अग्रणी अभ्यासकर्ता हुन्। थुप्रै अर्थमन्त्रीको मातहतमा बसेर काम गरिसकेका उनी अवकाश जीवनमा पनि उत्तिकै सक्रिय छन्। 


प्रकाशित : आइतबार, भदौ २९ २०८२२२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend