सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आन्दोलनमा क्षति भएकोप्रति सिबिफिनले गर्‍यो दुःख व्यक्त, सुशासनयुक्त नेपाल निर्माणमा साथ दिने प्रतिबद्धता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २९ २०८२
आन्दोलनमा क्षति भएकोप्रति सिबिफिनले गर्‍यो दुःख व्यक्त, सुशासनयुक्त नेपाल निर्माणमा साथ दिने प्रतिबद्धता

बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै परिसंघले अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका संस्थाहरूलाई सहज रूपमा सेवा सञ्चालन गर्न सहयोग गर्न सरोकारवाला सबैलाई अनुरोध गरेको छ।

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जेन-जी अभियानताहरूको आह्वानमा भएको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ। साथै आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सिबिफिनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलनका घटनामा दिवंगत भएकाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनमा स्वार्थप्रेरित आक्रमणका कारण सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति हामी स्तब्ध छौँ र गहिरो दुःख प्रकट गर्दछौँ।'

परिसंघले मानवीय तथा भौतिक क्षतिका बाबजुद आन्दोलनले सुशासनयुक्त नवनेपाल निर्माणका लागि स्पष्ट सन्देश दिएको उल्लेख गर्दै अब नवगठित सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

'युवा पुस्ताको आवाज र आकांक्षालाई प्रतिनिधित्व गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा बैंक तथा वित्तीय क्षेत्र सदैव तत्पर रहनेछ,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै परिसंघले निजी क्षेत्रलाई उत्पन्न चुनौतीलाई सम्बोधन गर्दै मुलुकभित्रै लगानी, पेशा, व्यवसाय र रोजगारी गर्न सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

'शान्ति र सुरक्षाको प्रत्याभूतिसहित आशा, ऊर्जा र उत्साह भर्ने उपयुक्त नीति निर्माणमा सरकार गम्भीर हुनेछ भन्ने विश्वास लिएको छ,' सिबिफिनले जनाएको छ।

बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै परिसंघले अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका संस्थाहरूलाई सहज रूपमा सेवा सञ्चालन गर्न सहयोग गर्न सरोकारवाला सबैलाई अनुरोध गरेको छ। 


प्रकाशित : आइतबार, भदौ २९ २०८२१७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend