बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुमनाले छाडिन् रास्वपा

आइतबार, भदौ २९ २०८२
सुमनाले छाडिन् रास्वपा

'कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने।'

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्। यसअघि शिक्षामन्त्रीसमेत भइसकेकी पार्टीकी सहमहामन्त्री सुमनाले पार्टीका शीर्ष नेतृत्वप्रति असन्तुष्टि पोख्दै आइतबार पार्टीबाट अलग भएको घोषणा गरेकी हुन्।

सुमनाले सामाजिक सञ्जाल फेसबुकमा पार्टी सभापति रवि लामिछानेलगायतप्रति लक्षित गर्दै लेखेकी छिन्, 'कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने।'

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएलगत्तै नै सुमनाले पार्टी सभापतिमा रहिरहन नहुने भन्दै आवाज उठाइरहेकी थिइन्। सबै सांसद तथा नेताहरु रविको अपराध ढाकछोपमा लागिरहँदा सुमनाले भने रविका पक्षमा कुनैपनि अभिव्यक्ति दिएकी थिइनन्। रविको वकालत गर्दै सुरु भएको हस्ताक्षर अभियानमा पनि सुमना थिइनन्। 

जेनजी आन्दोलनका क्रममा रविलाई जेलबाट भगाइएकोप्रति पनि उनको असन्तुष्टि थियो। यसैबीच सभापति रविले शनिबार आफू जेल फर्कन लागेको भन्दै आफ्ना लागि आवाज नउठाउने पार्टीका सदस्यहरुप्रति गुनासो राखेका थिए।

'जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन', सुमनाले लेखेकी छिन्', 'अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।'

उनले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ठूला दलका तेस्रो तथा युवापुस्ता नेताहरुलाई पनि पार्टीभित्र अब विद्रोह गर्नुपर्ने आशय राखेकी छिन्। 'आजको दिनको परिस्थिति आउन तपाईँहरूको भन्दा बढी तपाईँहरूको नेतृत्वको बहेराले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।'


प्रकाशित : आइतबार, भदौ २९ २०८२१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend