सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

राजनीतिक द्वन्द्वको मूल्य अर्थतन्त्रले कसरी चुकाउँछ? थाइल्याण्ड उत्रिँदै, इन्डोनेसियाले भोग्दैछ

बिहीबार , असोज २ २०८२
राजनीतिक द्वन्द्वको मूल्य अर्थतन्त्रले कसरी चुकाउँछ? थाइल्याण्ड उत्रिँदै, इन्डोनेसियाले भोग्दैछ

लामो समयदेखि अर्थतन्त्रमा अनेकखाले संकट भोग्दै अगाडि बढिरहेको नेपालले यी सबैबाट पाठ सिएर सही कदम चाल्नुपर्ने बेला आएको छ।

काठमाडौं- कुनैपनि मुलुकमा हुने राजनीतिक अस्थिरता र अशान्तिले अर्थतन्त्रलाई कतिसम्म खराब गर्नसक्छ भन्ने कुरा नेपालले नै लामो समयदेखि भोगिरहेको छ। हालैका केही वर्षमा दक्षिण एसियाकै दर्जनौँ मुलुकले पनि अस्थिरता र द्वन्द्वको मूल्य चुकाइरहेका छन्। 

एसिया महादेशकै दक्षिण-पूर्वी एसियाका ठूला र आशालाग्दा मानिएका अर्थतन्त्रले यसको मार भोगिरहेका छन्। थाइल्याण्ड र इन्डोनेसियाले हालैमात्र यस्तो मार खेपेका हुन्। यो क्षेत्रका दुई राम्रा अर्थतन्त्र मानिने यी दुई मुलुकको अर्थतन्त्रको विश्वास गुम्नुका पछाडि राजनीतिक अस्थिरता र अशान्ति रहेको छ। 

केही समय पहिले थाइल्याण्डले यो समस्या भोगेको थियो। तत्कालीन प्रधानमन्त्रीमाथि नैतिक र राजद्रोह गरेको आरोप लागेपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले विदेशी लगानीकर्ताले लगानी धमाधम झिकेका थिए। त्यसपछि उत्पन्न अवस्थामा त्यहाँको मुद्रा थाइभाट कमजोर बनेको थियो। तर थाइल्याण्डमा नयाँ सरकार गठन भएपछि भने विश्वासको पुनरागमन भइरहेको छ। 

थाइल्याण्डमा विश्वास पुनरागमन हुँदै गर्दा अर्को मुलुक इन्डोनेसिया भने आर्थिक संकटमा फस्दै गएको छ। यो संकटका पछाडि राजनीतिक निर्णय र विरोध रहेको छ।

इन्डोनेसियामा बजारले रूचाएको अर्थमन्त्रीको बहिर्गमनपछि सिर्जना भएको यो अवस्था नयाँ अर्थमन्त्री आएपछि पनि सम्हालिएको छैन। यही महिनामात्र इन्डोनेसियाको बजारबाट विदेशी लगानीकर्ताले ६५ करोड डलर लगानी फिर्ता लिइसकेका छन्। 

हिंसात्मक प्रदर्शनपछि अशान्त बनेको इन्डोनेसियामा नयाँ अर्थमन्त्रीलाई बजारले विश्वास नगरेपछि धमाधम विदेशी लगानीकर्ताले लगानी झिकिरहेका छन्। यही कारणले गर्दा इन्डोनेसियाको मुद्रा भारतीय रुपैयाँपछिको कमजोर बनेको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा आर्थिक अनिश्चिता बढेर उच्च चरणमा पुगेको भन्दै लगानीकर्ताले भएकै लगानी तानेका छन् भने नयाँ लगानी कसैले गरेका छैनन्। यस्तो अवस्थामा त्यहाँको सरकारले सञ्चितिबाट १२ अर्ब डलर कल्याणकारी काममा परिचालन गर्ने घोषणा गरेपछि झन विश्वास गिर्दै गएको छ। 

राजनीतिक विरोधलाई मत्थर पार्न लोकप्रिय कार्यक्रममा बजेट परिचालन गर्ने नीति सरकारले लिँदा उल्टै प्रत्युत्पादक बनेको छ। 

लामो समयदेखि अर्थतन्त्रमा अनेकखाले संकट भोग्दै अगाडि बढिरहेको नेपालले यी सबैबाट पाठ सिएर सही कदम चाल्नुपर्ने बेला आएको छ। 


प्रकाशित : बिहीबार , असोज २ २०८२०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend