काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि नयाँ पुस्ताको मागअनुसार आफूले काम गर्ने बताएकी छिन्। जनता र सरकार दुवै सँगसँगै माथि उठ्नुपर्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रलाई सरकारले साथ दिने बताइन्।
गएको साता सोमबार र मंगलबार भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै अन्तरिम सरकारको नेतृत्वमा कार्की आएकी हुन्। उनले आइतबार पदभार ग्रहण गरेसँगै आफू सत्ताको रसस्वादनका लागि होइन छ महिनासम्म अविराम काम गरेर चुनाव गराउनका लागि आएको बताएकी छिन्।
'जनता र सरकार विषम आर्थिक परिस्थितिमा रहेकोले यसबाट माथि उठ्नुपर्ने छ। व्यक्तिको सम्पत्ति, उद्योगी व्यवसायीको सम्पत्ति पनि नाश गर्ने काम भएको छ। अब सबैजना सँगै उठ्नुपर्ने भएको छ। उनीहरूलाई कसरी उठाउने भन्ने विषयमा सरकारले गर्नसक्ने सहयोग गर्ने छ' उनले भनिन्, 'जलाएर खरानी बनाउने काम हुँदा पनि म उठ्छु भन्ने जुन अठोट निजी क्षेत्रले देखाएको छ त्यो सह्रानीय छ।'
अहिले देश शून्यमा पुगेको भन्दै उनले भनिन्, 'मुलुकको आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ। अदालतका फाइलहरु नष्ट भएको छ। सिंहदरबारको सबै फाइल नष्ट भएको छ। मलाई यो देखेर लाज लागेको छ। यस्तो काम गर्नेलाई कसरी नेपाली भन्ने? यसमा कुनै खेल भएको छ। नोक्सान गर्नेहरूलाई छोडन पर्ने अवस्था छ। खोजबिन आवश्यक छ।'
'म रहरले आएको हैन। सडकबाट नै मलाई जिम्मेवारी दिन भनियो सोहीअनुसार मा आएको हो। छ महिनाभन्दा बढी नबस्ने गरी नयाँ सरकारलाई जिम्मेवारी सुम्पिने हाम्रो अटोट छ। यसमा सबैको साथ आवश्यक छ' उनले भनिन्।
'नोक्सान भएको सम्पति जनताबाट पहल गरेर बनाउने प्रहण गरेका छौँ। कयौँ रकम खर्च गरेर सिंहदरबार मर्मत भएको हो, अहिले अपराधीहरुले हामीमाथि गरेको चुनौती हो यो। सबै एकजुट भएर काम गर्नु पर्छ' उनले भनिन्।
