सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

ताप्लेजुङका किसान बँदेलबाट पीडित, अन्नबाली खेतबारीमा सखाप

आइतबार, भदौ २९ २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित, अन्नबाली खेतबारीमा सखाप

पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत संकटमा परेको छ।

ताप्लेजुङ- सिदिङवा गाउँपालिका-१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन्। पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत संकटमा परेको छ।

स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५-३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन्। 'पहिले भालुले दुःख दिने गर्थ्यो, अहिले बँदेलको आक्रमण बढेको छ', उनले बताए। उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ।

मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन्। 'एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन्। मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु?' उनले गुनासो पोखे। बँदेलले मकैमात्र नभइ आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्‍याउने गरेको छ।

निरन्तर क्षतिका कारण केही किसान बासाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन्। तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन। 

सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिइन्।

डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ। तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताए। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend