काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रति भारतको गहिरो मित्रता, समर्थन र शुभेच्छा व्यक्त गर्दै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई बधाई दिएका छन्।
मणिपुरमा आयोजित सार्वजनिक सभामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, 'हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहास र आस्थाद्वारा जोडिएका छौँ र सँगै मिलेर अघि बढिरहेका छौँ।'
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिँदै मोदीले यसलाई महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण भएको बताए। उनले भने, 'सुशीलाजीले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने विश्वास छ। यो नेपालका जनताको लोकतान्त्रिक भावनाप्रतिको प्रतिबद्धता हो।'
प्रधानमन्त्री मोदीले नेपालमा पछिल्ला दिनमा देखिएको एक विशेष दृश्यप्रति पनि संकेत गरे। उनले भने, 'नेपालका युवा-युवतीहरूले सडक सफा गर्दै, रंग लगाउँदै गरेको तस्वीर मैले सामाजिक सञ्जालमा देखेको छु। यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र होइन, नेपालको नवोदयको संकेत पनि हो।'
उनले नेपालको लोकतान्त्रिक मूल्यलाई सर्वोच्चमा राख्ने नेपाली जनताको साहसको प्रशंसा गर्दै भने, 'नेपालको प्रत्येक नागरिकको यस लोकतान्त्रिक समर्पणलाई म १४० करोड भारतीय जनताको तर्फबाट नमन गर्दछु।'
अन्त्यमा उनले नेपालप्रति शुभकामना व्यक्त गर्दै भने, 'म नेपालको उज्ज्वल भविष्यप्रति दृढ विश्वास राख्छु।'