काठमाडौं- मुलुकको सार्वजनिक वित्त प्रणाली आजदेखि सामान्यरुपमा सञ्चालन हुने भएको छ। वित्त प्रणालीका तीनवटै खम्बाको मुख्य संचरनामा क्षति नभएकाले आजेखि सामान्य रुपमा सञ्चालनमा आएको हो।
राजस्व, खर्च र ढुकुटीको अवस्थामा उल्लेखनीय क्षति नभएकाले सामान्य रुपमा सञ्चालनको तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।
अर्थ मन्त्रालयका अनुसार भुक्तानी प्रणाली र राजस्व प्रणालीमा ठिकठाक रहेको छ। भन्सार कार्यालयहरुमा क्षति भएपनि मुख्य प्रणालीमा असर नपुगेकाले सञ्चालनमा आउने अवस्था रहेको छ।
मुलुकको ढुकुटीमा पनि क्षति पुगेको थिएन। नेपाली सेनाको सुरक्षामा हुने भएकाले ढुकुटीको संरक्षण भएको छ। त्यस्तै आन्तरिक राजस्वको मुख्य प्रणाली सामान्यरुपमा सञ्चालन हुने अवस्थामा छ।
अर्थ मन्त्रालयको बजेट महाशाखाको एउटा भाग जले पनि बजेटको मुख्य प्रणालीमा क्षति पुगेको छैन। मन्त्रालय प्राङ्गणमा सवारीसाधनमा क्षति भएपनि मन्त्रालयको सरसफाइपछि नियमित सञ्चालनमा बाधा नपुग्ने अधिकारीहरूले जानकारी दिएका छन्।