सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा

आइतबार, भदौ २९ २०८२
झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा

राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दुरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन्।

झापा- जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताएका हुन्।

'आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन', उनले भने, 'बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ।'

यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो। जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए। जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्बाधरूपमा सञ्चालनमा आएका छन्। राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दुरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन्।

मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले विद्यालय खोल्ने सम्बन्धमा आज बैठक बस्ने जानकारी दिए। 'प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय हुनेछ', मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख भण्डारीले बताए।

जिल्लामा जेनजी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ। अन्य घाइतेको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ। जेनजी आन्दोलन सुरु भएको भोलिपल्टदेखि सुरु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको थियो।

जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका सहरमा बजार खुल्न थालिसकेको छ। रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend