काठमाडौं- संयुक्त अधिराज्य बेलायतले नेपालमा अन्तरिम सरकार गठनलाई महत्वपूर्ण राजनीतिक कदमको रूपमा टिप्पणी गरेको छ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो।
दूतावासले अन्तरिम सरकार गठनलाई नेपालका लागि महत्त्वपूर्ण मोडको रूपमा उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बेलायतले नेपालप्रति आफ्नो पुरानो मित्रताको स्मरण गर्दै आगामी चुनौतीहरूको सामना गर्ने प्रक्रियामा जवाफदेहीता र समावेशी शासनप्रतिको नेपाली जनताको आकांक्षालाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।