काठमाडौं- नेपाल समुद्रपार निकासी पैठारी संघ (एनएफटीए) ले आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह गरेको छ। अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन संघले आग्रह गरेको हो।
यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गर्दै संघले सम्पूर्ण सरकारी निकाय र कार्यालयहरु तत्कालै काममा फर्किँदा सहजीकरणको वातावरण बन्ने अपेक्षा राखेको छ।
प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निसाना बनाइएबाट उद्यमी व्यवसायी भयभीत भएको भन्दै संघले यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ।
'नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट बिस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प छैन। अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भइ युवापुस्ताको चाहनाबमोजिमको समृद्धि यात्रामा देश अगाडि बढ्ने हाम्रो अपेक्षा छ', संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमितरुपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन पनि संघले सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ।
व्यावसायिक एवं व्यक्तिगत सम्पत्ति सुरक्षाको ग्यारेन्टी भएको अवस्थामा मात्रै युवापुस्ताले चाहेको सुशासन, बेथितिको अन्त्य र समृद्धि हासिल गर्न सकिने संघको भनाइ छ।
'अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसकेमा अर्थतन्त्रमा थप समस्या आउने निश्चित छ। त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेसा व्यवसाय गर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गर्दछौँ', संघले जनाएको छ।
यस्तै, संघले निषेधाज्ञा एवं कर्फ्युका बेला अत्यावश्यकीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय वस्तुको ओसारपसारमा सहजीकरण गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।
परिस्थिति प्रतिकूल भए पनि हिम्मतका साथ गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन व्यवसायीलाई आग्रह गरिएको छ।
साथै, अत्यावश्यकलगायत अन्य सामान आयात निर्यातका लागि आवश्यक सुरक्षा प्रबन्ध गरी सम्पूर्ण भन्सार सम्पूर्ण नाकाहरु सुचारु गर्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ।