काठमाडौं- देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ।
सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवापुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ।
विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहनाबमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएको परिसंघले जनाएको छ। यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध रहेको जनाएको छ।
आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्याेगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहेको परिसंघले जनाएको छ।
औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको परिसंघको भनाइ छ।
लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघले आग्रह गरेको छ।
'सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि खर्बौँ लगानी आवश्यक पर्ने देखिन्छ। राज्यको स्रोतले मात्रै पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भइ उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गर्दछ' विज्ञप्तिमार्फत भनिएको छ।