काठमाडौं- जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेको काठमाडौं जिल्ला अदालतको भवन अहिले भग्नावशेषमा परिणत भएको छ। आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबाट क्षतिग्रस्त भएको उक्त भवनको सफाइ कार्यमा अदालतका कर्मचारीहरू अहिले खटिएका छन्। फुटेका सिसा, जलेका कागजातहरूको खरानी र अन्य फोहोर हटाउने क्रममा थकित कर्मचारीहरू सडकमा सुस्ताउँदै गरेका भेटिए।
बबरमहलस्थित यो ७ तल्ले भवन (अण्डरग्राउन्डसहित) नेपालको व्यस्ततम जिल्ला अदालतका रूपमा चिनिन्थ्यो। गत आर्थिक वर्षमा मात्रै यहाँ ५० हजारभन्दा बढी मुद्दा दर्ता भएका थिए, जसमध्ये साढे २६ हजार मुद्दा बाँकी थिए। शुक्रबार दिउँसो अदालत पुग्दा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारीहरू फुटेका सिसा भवनबाट निकाल्दै थिए।
आगलागीबाट कागजातहरू, फर्निचर, कम्प्युटरलगायतका सामग्री पूर्णरूपमा नष्ट भएका छन्। विशेषगरी अण्डरग्राउन्डमा रहेको अभिलेख शाखा सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ फैसला भइसकेका मुद्दाहरूका मिसिलहरू राखिएका थिए। वर्षौँदेखिका अभिलेखहरू सबै खरानीमा परिणत भएका छन्। एउटा पनि सद्दे फाइल भेटिएको छैन। यसबाट फैसला भएका मुद्दाहरूका निर्णयहरू र सम्बन्धित प्रमाणहरू मेटिएका छन्, जसले न्याय प्रक्रियामा दीर्घकालीन असर पार्ने छ।
भुइँतल्लामा रहेका अभियोग तथा फिराद दर्ता शाखा, तहशिल, बैंक काउन्टरह, लेखा र सूचना प्रविधि शाखाहरूको नामनिशान नै मेटिएको छ। एक कर्मचारीका अनुसार, नख्खु कारागारबाट छुटेका कैदीहरू र तिनका आफन्तहरूले अभिलेख र फाँटहरूमा रहेका आफूसँग सम्बन्धित मुद्दाका फाइलहरू छानिछानि जलाएका थिए। विशेष गरी सुन काण्ड, भुटानी शरणार्थी काण्ड र सहकारी काण्डसँग जोडिएका फाइलहरू निशानामा परेका थिए।
यसैगरी, लगत शाखामा रहेका फाइलहरू पनि नष्ट गरिएका छन्। मुद्दा फैसला भएपछि प्रतिवादीबाट भराइने बिगो, जरिमाना, कैदलगायतका सजायहरूको लगत त्यहाँ राखिने गरिन्थ्यो।
श्रेस्तेदार तीर्थराज भट्टराईले भने, 'आगलागीबाट भवन नै काम नलाग्ने अवस्थामा पुगेको छ। भुइँतल्लामा प्वाल परेको छ। प्राविधिकहरूले भित्री भागमा नजान सल्लाह दिएका छन्।'
काठमाडौं जिल्ला अदालत २०७० मा बबरमहलको आधुनिक भवनमा सरेको थियो। आगलागीपछि अदालतको सेवा अवरुद्ध भएको छ। वैकल्पिक व्यवस्था गर्न छलफल भइरहेको छ। यस घटनाले न्याय प्रणालीमा ठूलो क्षति पुर्याएको छ।




