काठमाडौं- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन आग्रह गरेको छ।
जेनजी आन्दोलनक्रममा भएको जनधनको क्षतिप्रति दु:ख जनाउँदै महासंघले उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।
'सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,' महासंघका अध्यक्ष सिताराम न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघले रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजस्वको सदुपयोगबारे युवापुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
उद्योग-व्यवसाय सञ्चालन गरेर खान पाउने संविधानप्रदत्त अधिकार भएको भन्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजस्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ। मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भइ संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।
साथै, यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपिल गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेसा-व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ।