काठमाडौं- नेपाल प्रहरीले भदौ २३ र २४ गते गरिएको आन्दोलनका क्रममा भएको आगजनी तथा लुटपाटसम्बन्धी भिडियो पठाउन आग्रह गरेको छ।
अनुसन्धान तथा कारबाही अघि बढाउनका लागि विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीले अनुरोध गरेको हो।
अनुसन्धानका लागि भिडियो पठाएर सहयोग गर्नेहरुको गोपनियता कायम राखिने प्रहरीले जनाएको छ।
गएको सोमबार र मंगलबार देशभर सरकारविरुद्ध गरिएको प्रदर्शन तथा आन्दोलनमा आक्रोशित भिडले सरकारी, निजी एवं व्यावसायिक भवन तोडफोड गर्दा खर्बौँ क्षति भएको आकलन गरिएको छ। अहिले ती भवनहरुका आगो निभाउन तथा महत्वपूर्ण सामग्री संकलन थालिएको छ।
साथै प्रदर्शनमा हिंसात्मक तथा अराजक गतिविधि गर्नेलाई पक्राउ तथा कारबाही पनि सुरु गरिएको छ।