मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सामान्य बन्दै गुल्मीको जनजीवन

शुक्रबार, भदौ २७ २०८२
सामान्य बन्दै गुल्मीको जनजीवन

जिल्लामा आज बिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन्।

गुल्मी- जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ। जिल्लामा आज बिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन्।

सदरमुकाम तम्घासलगायत जिल्लाका मुख्य बजार क्षेत्रमा मानिसहरु निर्बाध रुपमा आफ्नो नियमित काममा निस्केका छन्। जिल्लाबाट पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आएका छन्। सवारी साधनहरु सञ्चालन भएसँगै यात्रुको चहलपहल समेत बढेको छ।

सरकारी कामकाजका लागि सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय, अस्पताल, मालपोत, नापीलगायतका कार्यालयमा बिहानदेखि सेवाग्राहीहरुको चाप बढेको छ। गुल्मी शान्त जिल्ला भएका कारण गुल्मीमा कर्फ्युसमेत लगाउन नपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए। उनले सबैको संयमितता र धैर्यताका कारण जिल्ला अप्रिय घटना हुनबाट जोगिन सफल बनेको बताए।

जिल्लामा संस्थागत विद्यालय आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन्। उनीहरुले शनिबार पनि विद्यालय सञ्चालन गर्ने जनाएका छन्। सामुदायिक विद्यालय पनि आंशिकरुपमा सञ्चालनमा आएका छन्। उनीहरुले शुक्रबार एक दिनका लागि मात्र विद्यार्थीलाई बोलाएर दुःख दिनुभन्दा आइतबारदेखि पठनपाठन नियमित गर्ने जनाएका छन्।

नेपाली सेनाले पनि सदरमुकाम क्षेत्रमा गस्तीलाई कम गर्दै लगेको छ। मानिस चोकचोक र चिया पसलमा जम्मा भएर वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा परिचर्चा र विमर्श गर्न थालेका छन्। वित्तीय संस्था पनि आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन्। जिल्लाको जनजीवन पुरानै लयमा फर्कन थालेको छ। 

जेनजी आन्दोलनका कारण जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा क्षति पुगे पनि अन्य व्यक्तिगत र सरकारी संरचना भने क्षति हुनबाट जोगिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend