मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

जेनजी आन्दोलन : काभ्रेमा १८ सरकारी तथा निजी संरचनामा क्षति, दुईको मृत्यु

शुक्रबार, भदौ २७ २०८२
जेनजी आन्दोलन : काभ्रेमा १८ सरकारी तथा निजी संरचनामा क्षति, दुईको मृत्यु

यसैबीच स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्यांकन कार्य अघि बढाएको जनाएको छ।

काभ्रेपलाञ्चोक- ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्‍याइएको छ। विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ।

प्रदर्शनका क्रममा मंगलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र केही सवारी साधन पूर्णरुपमा क्षति पुर्‍याइएको छ। यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ। बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ। 

प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी-पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन्। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति भएको छ। प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन्। 

प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्वनगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी गरेका छन्।

बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए। अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरुलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो। २८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

यसैबीच स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्यांकन कार्य अघि बढाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने आगजनी गर्ने, व्यक्ति तथा समूहको पहिचान थालिएको बताए। तोडफोड र क्षतिबारे थप विवरण संकलन भइरहेको र सुरक्षा वयवस्थालाई कडा पारिएको प्रशासनको भनाइ छ। 

आन्दोलनमा काभ्रेका दुईजनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा जिल्लाका दुईजनाले ज्यान गुमाएका छन्। भुम्लू गाउँपालिका-४ घर भइ ललितपुर उपमहानगरपालिका-२५ सुनाकोठी बस्दै आएका २७ वर्षीय सरोज खत्री र तेमाल गाउँपालिका-७ काल्धार घर भई ललितपुरको पाटनमा बस्दै आएका ४२ वर्षीय दिलनारायण तामाङको मृत्यु भएको हो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा बिहीबार जलेको अवस्थामा मृत भेटिएका व्यक्ति खत्री थरका रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिइन्। उनका अनुसार मृतकले लगाएका कपडा र घडीका आधारमा पहिचान खुलेको हो। मंगलबार दिउँसो प्रदर्शनका क्रममा दाहालको घरमा आगजनी गरिएको थियो। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend