काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका प्रबन्ध निर्देशक करण चौधरीले नेपाललाई विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउने अवसर आएको बताएका छन्।
पछिल्लो आन्दोलन र अघि बढिरहेको भिन्न राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै उनले भनेका छन्, 'यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपाललाई केवल महानमात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ।'
'गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ। हो केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौँ। आजको दिन हाम्रो हातमा छ। अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
नेपाललाई नयाँ उचाइमा पुर्याउने अवसर आएको भन्दै उनले लेखेका छन्, 'आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने।'
'म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु र नेपाललाई अघि बढाउनेछु' उनको भनाइ छ।