मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

जेनजी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति, धेरैले गुमाए रोजगारी

शुक्रबार, भदौ २७ २०८२
जेनजी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।

काठमाडौं- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आगजनीका कारण झन्डै दुई दर्जन होटलमा क्षति पुगेको छ।

प्रारम्भिक जानकारीअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डसमेतका चर्चामा रहेका होटलहरु प्रत्यक्ष प्रभावित भएका छन्।

तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको होटल संघ नेपालले जनाएको छ। देशैभरी करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।

यसबाट प्रभावित सदस्य होटलहरु मर्मत सम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने स‌ंघले जनाएको छ।

हाल सञ्चालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नुपर्ने बैंकवित्तीय संस्थालगायतका आर्थिक दायित्व नियमितरुपमा तिर्न तथा बुझाउन असमर्थ रहने देखिएको छ।

सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ भइ अपराधीलाई दण्ड हुनुपर्ने माग गरिएको छ।

मर्मतसम्भार तथा पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न र आर्थिक स्थायित्व कायम गर्दै पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघको माग छ।


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend