मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

५ करोड लागतमा पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै

शुक्रबार, भदौ २७ २०८२
५ करोड लागतमा पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै

संघीय सरकारबाट विनियोजन भएको पाँच करोड २६ लाख ८० हजार रूपैयाँ लागतमा उक्त पुल निर्माण हुने भएको हो।

पर्वत- पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुंगे पुल निर्माण हुने भएको छ। कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो।

कुश्मा बजारस्थित वडा नं ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका-१४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि ४१५ मिटर लामो पुल निर्माण सुरु भएको हो। यसअघि कुश्मा-कैया झोलुंगे पुल, कुश्मा-बलेवा यान्त्रिक पुल, कुश्मा-बलेवा बञ्जी जम्पको पुल र शिर्सुवा-कैया झोलुंगे पुल निर्माण भइसकेका छन्।

बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ। पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेकाले अब छिट्टै निर्माण सुरु हुने उनले बताए।

संघीय सरकारबाट विनियोजन भएको पाँच करोड २६ लाख ८० हजार रूपैयाँ लागतमा उक्त पुल निर्माण हुने भएको हो। बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए।

पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको विश्वास छ।

'विशेषगरी बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकोले यो पुल निकै महत्त्वपूर्ण छ', स्थानीय कमल जिसीले भने, 'प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी तथा बागलुङ र कुश्मा नगरपालिकाका प्रमुखहरूको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ।'

अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको ८५ रूपैयाँ तिर्नुपर्छ भने बञ्जी पुलबाट दुईतर्फी यात्राका लागि १२० रूपैयाँ लाग्छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend