मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै, नयाँ सरकारको प्रतीक्षामा नागरिक

शुक्रबार, भदौ २७ २०८२
उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै, नयाँ सरकारको प्रतीक्षामा नागरिक

जनजीवन सामान्य बन्दै जाँदा नागरिकहरू नयाँ सरकारको प्रतीक्षामा रहेका छन्। अबको राजनीतिक घटनाक्रम के हुने भन्ने प्रतीक्षा व्यग्र बनेको देखिन्छ।

काठमाडौं- काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौं उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो। आज बिहानदेखि सवारीसाधन साथै बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ। 

आज भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कफ्यूलाई निरन्तरता दिइएको छ।

यसैगरी अत्यावश्यक कार्यको लागि आवतजावत गर्न भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरानसमेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने जनाइएको छ।

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटलबाहेक) देखाइ कार्यालयसम्म आवतजावत गर्न सकिने जनाइएको छ।

यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाइ विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ।  

काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने उल्लेख छ। 

अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक-सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको सेनाले जनाएको छ।

जेनजीका प्रतिनिधिहरू बुधबारदेखि नै सडकमा सरसफाइ अभियानमा पनि निस्किएका छन्। आगजनी गरिएका कार्यालयका कर्मचारीहरू पनि ससरफाइ, कागजात संकलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन्। कार्यालय सञ्चालनका लागि आवश्यक कामहरू गरिरहेका छन्।

नयाँ सरकारको प्रतीक्षामा नागरिक

जनजीवन सामान्य बन्दै जाँदा नागरिकहरू नयाँ सरकारको प्रतीक्षामा रहेका छन्। अबको राजनीतिक घटनाक्रम के हुने भन्ने प्रतीक्षा व्यग्र बनेको देखिन्छ। 

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरू निरन्तर वार्ता र छलफलमा रहेका छन्। विभिन्न संघ-संगठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताइरहेका छन्। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा निरन्तर छलफल चलिरहेको छ। राष्ट्रपति पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित छलफल गरिरहेका हुन्। 

संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति जुटेसँगै अन्तरिम सरकार बन्ने देखिएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend