काठमाडौं- जेनजी प्रदर्शनका क्रममा गएको मंगलबार साँझ कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन्।
प्रहरीले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन्। विभिन्न जिल्लामा कैदीबन्दीहरू सम्पर्कमा आइरहेका छन्।
देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये १ हजार ५ सय ६७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ। यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी १ हजार ५ सय ९ जना र थुनुवा ५८ जना रहेका छन्। अझै १२ हजार ५ सय ३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताए। उनले ७ सय ९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताए।
बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।
'हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम जारी छ', जोशीले भने, 'अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्।' उनले केही कैदीबन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको बताए।
बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी थिए। जसमध्ये मंगलबार साँझ ४५५ जना भागेका थिए। भागेकामध्ये नौ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए। कारागार प्रशासनका अनुसार २३ जना बन्दीहरु भागेका थिएनन्।
जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दीहरु छन्। त्यसैगरी महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ।
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफँै फर्किएका हुन् ।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताउनुभयो ।
“बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भन्नुभयो, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन् ।”
कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए । ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुङ्गानाले जानकारी दिनुभयो ।