काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको हो।
शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। डडेलधुराको गाइबन्धेमा पछिल्लो एक घन्टामा २०.६ मिलिमिटर, कन्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर र डडेलधुराकै जोगबुढामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ। बैतडी, अछाम, सुर्खेत, सल्यानलगायतका जिल्लामा समेत वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। यस क्रममा देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ।
राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यसैगरी, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति समेत भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ। रासस