काठमाडौं- यही भदौ २४ गतेको आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण संरचनाहरू नै जल्यो। मुख्य प्रशासनिक केन्द्र, अदालतमात्र होइन देशभरका मुख्य सरकारी कार्यालय तोडफोड र आगजनीले नष्ट भए।
प्रदर्शनकारीहरूले सरकारीसँगै निजी संरचनालाई पनि निसाना बनाए। गएको २३ गते सुरू भएको युवाहरूको प्रदर्शनमा सरकारले दमन गरी १९ जनाको हत्या गर्यो। प्रहरीले टाउको नै ताकेर हानेपछि कलिला स्कूले बालबालिकाको ज्यान गयो।
दोस्रो दिन गएको २४ गते दिउँसोदेखि आन्दोलन भड्किन पुग्यो। राजनीतिक दलका नेताहरूको निवास तोडफोडबाट सुरू भएको प्रदर्शनकारीको निसानामा व्यवसायीका निजी घर तथा व्यवसाय रहेका भवन पनि परे। यो आन्दोलनका क्रममा सबैभन्दा धेरै क्षति व्यवसायी मीनबहादुर गुरुङकै भयो। सम्भवत: सरकारपछि सबैभन्दा बढी क्षति बेहोर्ने गुरुङ नै हुन्।
गुरूङको भाटभटेनी सुपरमार्केट प्रदर्शनकारीहरूको मुख्य निसानामा पर्यो। देशभरका २० वटा आउटलेट तोडफोड आगजनी तथा लुटपाट भयो। भाटभटेनीका ११ वटा आउटलेटमा तोडफोड, लुटपाटपछि आगो लगाएर नष्ट गराइदिएका छन्। त्यस्तै ९ वटामा तोडफोड र लुटपाट भएको छ।
गुरुङको मुख्य व्यवसाय आन्दोलनकारीको निसानामा पर्यो। पाँच हजारभन्दा धेरैलाई रोजगारी दिएको भाटभटेनीमाथि प्रदर्शनकारीको निसामा परेको यो पहिलोपटक होइन।
यसअघि चैत १५ गते भएको राजावादीहरूको आन्दोलनको समयमा पनि भाटभटेनीमा लुटपाट गरिएको थियो। राजावादी आन्दोलनको मुख्य नाइके दुर्गा प्रसाइँ यसपालिको आन्दोलनमा पनि पृष्ठभूमिमा सक्रिय रहेको खुलिसकेको छ।
भाटभटेनी निसानामा पर्नुका पछाडि विभिन्न व्यक्ति र संगठित समूह नै हुनसक्ने अनुमान धेरैको छ। राजनीतिक रुपमा त पछिल्लो समय माओवादी समर्थकदेखि दुर्गा प्रसाईसम्म गुरुङको आलोचक छन्।
त्यस्तै यसअघि कोटेश्वर भाटभटेनी लुटपाटको अभियोगमा पक्राउ परेकाहरू रिहा भइसकेका छन्। उनीहरू पनि अहिलेको प्रदर्शनमा मिसिएर आक्रमण गरेको हुनसक्ने अनुमान भइरहेका छन्।
पछिल्लो दुई दशकमा आफ्नै प्रयासमा अर्बौँको व्यापारिक साम्राज्य विस्तार गर्न सफलमात्र होइन हजारौँलाई रोजगारी, कल्याणकारी काममा पनि उत्तिकै सक्रिय गुरुङलाई पछिल्लो समय विभिन्न समूहले निसानामा राख्दै आएका छन्।
गुरूङले शिक्षण अस्पताल महाराजगञ्जमा दुई ठूला भवन बनाइदिएका छन्। त्यस्तै भगवान कोइरालाको बाल अस्पतालमा पनि ५० करोड रुपैयाँ सहयोग गरेका थिए। गरिब विद्यार्थीलाई छात्रवृत्ति दिएर सघाइरहेका गुरुङले वृहत कल्याणकारी काम पनि उत्तिकै गरिरहेका छन्।
सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका गुरुङले शिक्षा क्षेत्रमा पनि समान रुपमा सहयोगी पहिचान बनाएका छन्। उनले श्रीमती सावित्रा गुरुङको नाममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ग्रामीण भेगका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि सहयोग गर्दै आएका छन्।
हालसम्म रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका विद्यार्थीहरु गुरुङको सहयोगमा डाक्टर भइसकेका छन्।
देशभर स्वास्थ्य, शिक्षा र समाजसेवाका क्षेत्रमा निजी क्षेत्रबाट यति व्यापक रूपमै योगदान दिने उदाहरण कमै छन्। मीनबहादुर गुरुङको यो सक्रियता निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमूनाका रूपमा स्थापित हुँदै गएको छ।
अहिले जे भयो त्यो राम्रो नभएको, आफू युवाहरूकै कल्याणका लागि लागिपरेको गुरुङ बताउँछन्। ‘अहिले जे भयो भयो, अब हामी धुलो टक्कटक्याएर फेरि उठ्नेछौँ, त्यसका लागि काम सुरू गरिसकेका छौँ’ गुरुङले भने।