काठमाडौं- भारत सरकारले सवारीसाधनमा लगाउँदै आएको जीएसटी(गुड्स एन्ड सर्भिस ट्याक्स) घटाएसँगै सवारीसाधनको मूल्य उल्लेख घटेको छ।
सवारी उत्पादक कम्पनीहरुले सरकारले घटाएको दरअनुसार सवारीसाधनमा लाग्ने जीएसटी घटाएर सवारीको समायोजित मूल्य सार्वजनिक गरिरहेका छन्।
भारत सरकारकाले घटाएको जीएसटी यही सेप्टेम्बर २२ बाट कार्यान्वनमा आउनेछ। गत साता भारतको जीएसटी काउनसिलको बैठकले विद्यमान जीएसटी दर घटाउने निर्णय गरेको थियो।
सबै प्रकारका सवारीसाधनको जीएसटी दर घटाइएको छ। सोहीकारण सबै सवारी उत्पादक कम्पनीहरुले धमाधम नयाँ जीएसटीअनुसार मूल्य समायोजन गरिरहेका छन्। भारतमा घटेको जीएसटीको प्रत्यक्ष असर नेपालमा आयात हुने सवारीसाधनमा भने पर्ने छैन।
भारतले सबैभन्दा धेरै १२ सय सीसी इन्जिन क्षमताका र १५ सय सीसी इन्जिन क्षमताका तर ४ मिटरभन्दा कमका कारमा ११ प्रतिशतसम्म जीएसटी घटाएको हो।
१२ सय सीसीसम्म पेट्रल र १५ सय सीसीसम्म डिजेल तथा ४ मिटरसम्मका कारमा २९ प्रतिशत रहेको जीएसटीलाई १८ प्रतिशतमा सीमित गरिएको छ। त्यस्तै १५ सय सीसीसम्म इन्जिन भएका कारमा ४५ प्रतिशत रहेको जीएसटीलाई ४० प्रतिशत कायम गरिएको छ।
१५ सय सीसीभन्दा बढी इन्जिन क्षमताका र अन्य एसयूभीमा रहेको ४८ प्रतिशत जीएसटीलाई ४० प्रतिशतमा झारिएको छ। युटिलिटी सवारीसहित अन्य एसयूभीमा ५० प्रतिशत रहेको जीएसटीलाई ४० प्रतिशत कामय गरिएको छ।
त्यस्तै अन्य ४ पांग्रे सवारीमा ४३ प्रतिशत रहेको जीएसटीलाई ४० प्रतिशत कायम गरिएको छ। त्यस्तै हाइब्रिड सवारीमा पनि भारत सरकारले क्षमताअनुसार निर्धारण गरिएको जीएसटी घटाएको छ। यसका साथै ट्रक, बस, भ्यान तथा साना कमर्सियल सवारीमा १८ प्रतिशत जीएसटी कायम गररेको हो।
घटेको जीएसटी सेप्टेम्बर २२ देखि कार्यान्वयनमा आउने भएपनि सबैजसो कम्पनीले नयाँ जीएसटी दर अनुसारको मूल्य सार्वजनिक गरिरहेका छन्।
भारतको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीले नयाँ जीएसटी कार्यान्वयन हुँदा कारको मूल्य १ लाख ७५ हजार भारुसम्म कम हुने उल्लेख गरेको छ।
नयाँ जीएसटी दरपछि भारतमा मर्सिडिजका कारको मूल्य ११ लाख भारुसम्म घट्नेछ। त्यस्तै टोयोटाको कार ३ लाख ५० हजार भारुसम्म सस्तिनेछ। यसैगरी स्कोडाका कार नयाँ जीएसटी दरपछि ५ लाख ८० हजार भारुसम्म कम मूल्यमा पाइनेछ।
टाटा मोटर्सको कमर्सिय सवारी नयाँ जीएसटी दरपछि ४ लाख ६५ हजार भारुसम्म कम मूल्यमा पाइने भएको छ। त्यस्तै हुन्डाईका कारको मूल्य नयाँ जीएसटीपछि २ लाख ४० हजार भारुसम्म कम मूल्यमा आउनेछ। यसका साथै एमजी इन्डियाले नयाँ जीएसटीपछि आफ्ना कारको मूल्य भारतीय बजारमा ३ लाख भारुसम्म कम हुने जनाएको छ।
अउडीका कारको मूल्य नयाँ जीएसटी दरपछि ७ लाख ८० हजार भारुसम्म कममा खरिद गर्न सकिने भएको छ। महिन्द्रा कार कार खरिद गर्दा १ लाख ५६ हजार भारुसम्म कम मूल्यमा खरिद गर्न सकिने भएको हो। टाटाका प्यासेन्जर कार खरिदमा नयाँ जीएसटीपछि १ लाख ५५ हजार भारुसम्म कममा खरिद गर्न सकिने छ।
त्यस्तै कम इन्जिन क्षमताका मोटरसाइकल तथा स्कुटर मा पनि जीएसटी घटेकाले यी दुई पांग्रे सवारीको मूल्यसमेत घटेको छ।
