काठमाडौं- सोलुखुम्बुमा निर्माण हुन लागेको ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत् आयोजना अब पूर्णरूपमा नेपाली स्वामित्वमा आएको छ।
भारतको एम/एस दूधकोशी हाइड्रोपावर प्रालिको स्वामित्वमा रहेको ‘दूधकोशी हाइड्रोपावर नेपाल प्रालि’लाई हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, पुवाखोला-१ हाइड्रोपावर र आयु म्यालुन हाइड्रोपावरसहितको समूहले खरिद गरेको हो। भारतीय कम्पनीले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन नसक्दा बिक्री गरेको हो।
दूधकोशी-२ आयोजनाले २०७७ असोज ७ गते निर्माण इजाजत पाएको थियो। नयाँ प्रवर्द्धक समूहले भदौभित्र वित्तीय व्यवस्थापन पूरा गरी कात्तिकदेखि निर्माण सुरु गर्ने तयारी गरेको छ। यसका लागि समूहले करिब साढे १० अर्ब रूपैयाँ ऋण बैंकमार्फत जुटाउँदै छ। ऋणका लागि परियोजनाले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालमार्फत क्रेडिट रेटिङसमेत गराएको छ।
२०७८ मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरणसँग ३० वर्षका लागि ७० मेगावाट विद्युत् खरिद-बिक्री गर्ने दीर्घकालीन विद्युत् खरीद सम्झौता (पीपीए) भएको छ। सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रूपैयाँ ८० पैसा, हिउँदमा गैरपिक समयमा ८ रूपैयाँ ४० पैसा र पिक समयमा ८ रूपैयाँ ५० पैसादेखि १० रूपैयाँ ५५ पैसासम्ममा विद्युत् बिक्री हुनेछ। पहिलो ८ वर्षसम्म सो दरमा वार्षिक ३ प्रतिशत वृद्धिको प्रावधान राखिएको छ।
आयोजनाको अनुमानित लागत १५ अर्ब रूपैयाँ रहेको छ, जसलाई ऋण-इक्विटी अनुपात ७०:३० मा वित्तपोषण गरिनेछ। यसअनुसार १० अर्ब ५० करोड रूपैयाँ दीर्घकालीन ऋण र ४ अर्ब ५० करोड रूपैयाँ इक्विटी जुटाइने छ।
आयोजनाबाट उत्पादित विद्युत् १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत टिङ्ला सबस्टेशनमा जोडिने छ। जसले विद्युत् निकासीमा अवरोध नहुने कम्पनीको विश्वास छ।
पिकिङ रन अफ दि रिभरमा आधारित यस आयोजनाले सुक्खा मौसममा दैनिक अधिकतम ६ घण्टासम्म पिक आवरमा उच्च दरमा विद्युत् बिक्री गर्ने सुविधा पाउने भएकाले कम्पनीको आम्दानी क्षमता बलियो हुने अपेक्षा गरिएको छ।
