बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

असमानताको जरो खोज्दै 'जेनजी' : भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दै

आइतबार, भदौ २२ २०८२
असमानताको जरो खोज्दै 'जेनजी' : भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दै

यो पुस्ता इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हो। डिजिटल प्रवाह र विविधता महसुस गरेको यो पुस्तामा पछिल्लो समय राजनीतिक चेत र प्रश्न गर्ने शैलीको विकास स्पष्ट देखिन्छ।

काठमाडौं- देशमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध युवाहरू जुर्मुराउन थालेका छन्। 'जेनजी' भनेर चिनिने नयाँ पुस्ताले सामाजिक सञ्जालमार्फत निकालिरहेको विरोधका स्वर अब सडकमा नै वृहत प्रदर्शनमार्फत प्रकट हुने भएको छ। 

२८ वर्षमुनीका युवाहरूको समूहले भोलि सोमबार काठमाडौं माइतीघरमा गर्ने भनिएको उक्त प्रदर्शनमा सबैलाई सहभागी हुन आह्वानहरू आइरहेका छन्। कुनै पार्टी र कुनै समूहमार्फत नभइ युवाहरू स्वतन्त्ररुपमा जोडिँदै गइरहेका देखिन्छन्। 

पछिल्लो समय फिलिपिन्स र इन्डोनेसियमा चर्किएको आन्दोलनबाट प्रेरित भएर नेपाली युवाहरूले मुलुकमा मौलाएको भ्रष्टाचार र आसोपासे पोस्ने शासनसत्ताको विरोध गर्न प्रदर्शनको घोषणा गरेका छन्। टिकटकबाट सुरू भएको आन्दोलनमा सोमबार देशभर विभिन्न ठाउँमा प्रदर्शन गर्न आह्वान गरिएको छ। 

टिकटकमा युवाहरूले विशेषगरी राजनीतिक नेताका छोराछोरीहरूको भड्किलो जीवनशैली र गरिब जनताको कष्टपूर्ण अवस्थालाई तुलना गरेर भिडियो बनाउन थालेका थिए। सामान्य आम्दानी भएका नेताका छोराछोरीको विलासी जीवनशैली कसरी सम्भव भयो? वैध आम्दानी धेरै नहुँदा पनि अर्बौँको साम्राज्य कसरी खडा गरे? जस्ता प्रश्न उठाएर टिकटकमा युवाहरूले भिडियो बनाइरहेका छन्। 

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको 'जेनजी' भनेर चिनिएको पुस्ताका युवाहरूले यस्ता दर्जनौँ भिडियो बनाएका छन् जसमा जनताबाट उठेको करमा नेताका छोराछोरीले रजाइ गरेको देखाइएको छ। ‘हाम्रो कर तिम्रो बिलासी’, ‘अब पुग्यो’ लगायतका नारा तथा ‘नेपोकिड्स’ लगायतका ह्यासट्याक चलाइएको छ।

यो पुस्ता इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हो। डिजिटल प्रवाह र विविधता महसुस गरेको यो पुस्तामा पछिल्लो समय राजनीतिक चेत र प्रश्न गर्ने शैलीको विकास स्पष्ट देखिन्छ। पछिल्लो हप्तादेखि चर्किएको भर्चुअल आन्दोलन सोमबार भने सडकमै आउने भएको हो। 

पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि युवाहरूको यो विरोध झन चर्को भएको छ। टिकटक, भाइबरलगायत अरु सामान्य प्रयोगमा आएकाबाहेक अन्य लोकप्रिय सञ्जाल नेपालमा प्रतिबन्ध लगाइएको छ। युवाहरूले भीपीएन प्रयोग गरी बन्द गरिएका सञ्जालमा नै यस्ता 'कन्टेन्ट पोष्ट' गरिरहेका छन्। 

मुलुकमा भ्रष्टाचार मौलाएको, जुन पार्टी सत्तामा आएपनि आसेपासेहरूले मात्र लाभ लिएको, जनतालाई भने सधैँ सास्ती भएकाले अहिलेको नेताहरूको रजगजको विरोध युवाहरूले गरिरहेका छन्। 

युवाहरूको यस्तो आन्दोलनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यो प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्। निश्चल बस्नेत र शिव परियारलगायत कलाकारले पनि समर्थन जनाएका छन्।

अन्य केही स्थापित नेताहरूले पनि यसमा समर्थन जनाएका छन् भने एमालेका नेताहरूले युवाहरूको यो प्रदर्शनको विरोध जनाएका छन्। एमाले नेता महेश बस्नेतले यो प्रदर्शनको आलोचना नै गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने युवाहरूलाई भड्काएर दुरुपयोग गर्न खोजिएको आरोप लगाएका छन्। विधि र कानून उल्लघंन गर्न नपाउने टिप्पणी गर्दै ओलीले आन्दोलन दबाउने विषयतर्फ पनि संकेत गरेका छन्। नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत अनि विधि कानूनबारे स्पष्ट छ भन्ने अपेक्षा आफूले राखेको उनको भनाइ छ।

यसअघि कोभिड १९ व्यापक भइरहेको समयमा पनि सरकारको नाकामीविरुद्ध युवा पुस्ताले 'इनअफ इज इनअफ' भन्दै स्वत:स्फूर्त आन्दोलन गरेका थिए। जतिबेला ओली नेतृत्वको सरकारले युवाहरूको आन्दोलन दबाउन पानीको फोहरादेखि लाठीचार्जसम्म गरेको थियो। 

अहिले युवाहरूको स्वतन्त्र विरोध प्रदर्शनलाई विभिन्न समूहले राजनीतिक रंग दिने डर पनि व्यक्त भइरहेका छन्। यसैले काठमाडौं महानगर प्रमुख शाहले त युवाहरूको आन्दोलन आफ्नो स्वार्थ पूरा गर्न कसैले नबिगारुन् भन्ने सन्देशसमेत दिएका छन्। 

आन्दोलनको समर्थनमा सामाजिक सञ्जालमा लेखिरहेका युवाहरूले भने आफूहरू कुनै झण्डामुनि नरहने बताइरहेका छन्। यो कुनै व्यक्तिप्रति भन्दा प्रणालीमा वर्षौँदेखि देखिएको बेथितिप्रतिको आवाज भएको उनीहरूको भनाइ छ। नयाँ पुस्ताको आन्दोलन भए पनि यसमा जोडिन सबै सचेत नागरिकलाई उनीहरूले आह्वान पनि गरिरहेका छन्। 


प्रकाशित : आइतबार, भदौ २२ २०८२१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend